Tuesday, December 17, 2013

'म क्षेत्रीबाहुन विरोधी होइन, बाख्रालाई कुकुर बनाइयो' : आङकाजी शेर्पा

३ पुस, काठमाडौं । पूर्वएमाले नेता, आदिवासी जनजाति महासंघका पूर्वमहासचिव एवं हाल संघीय समाजवादी पार्टीका स्थायी कमिटी सदस्य आङकाजी शेर्पाले देशमा पहिचानसहितको संघीय संविधान निर्माण भएपछि मुलुकमा शान्ति र सम्वृद्धि स्थापित हुने र त्यसपछि आफूले राजनीतिबाट सन्यास लिने बताउनुभएको छ ।
‘हिन्दूधर्म, वुद्ध धर्मलगायतका सबै धर्मशास्त्रले मानिसको जीवनलाई ४ भागमा बाँडेको छ । सुरुको अवस्थामा ज्ञान आर्जन, त्यसपछि आय आर्जन, त्यसपछि विस्तारै जीवनलाई ध्यान तपश्या आदिको माध्यमबाट अर्को लोकको लागि तयार राख्नुपर्छ’ काठमाडौंको वौद्धस्थित आफ्नै निवासमा अनलाइनखबरसँग कुरा गर्दै शेर्पाले भन्नुभयो, ‘म ६० को हाराहारीमा पुगिसकें, अब सक्रिय राजनीति १० वर्ष गर्न सकौंला, त्यसैले पहिचानसहितको संघीय संविधान बन्यो भने त्यसले देशमा शान्ति स्थापना गर्ने छ, सम्वृद्धि स्थापना गर्नेछ र त्यसपछि म अर्को जीवनकालका लागि मानसिक रुपले तयारीमा लाग्छु, आध्यात्मतिर लाग्छु ।’
मान्छेले आफू मरिन्छ भनेर सोच्ने हो भने पाप कम गर्ने उहाँको विश्लेषण छ । मानिस एकपटक मर्छ भन्ने कुरा सबैलाई थाहा छ । हाम्रो वुद्ध धर्मले भनेजस्तै सबै मानिसले आफ्नो मृत्यु हुन्छ भन्ने सोच्यो भने त्यस्तो मानिसको हातबाट पाप कम हुन्छ,’ शेर्पाले भन्नुभयो-’जसले म अजम्बरी छु, मर्दिन भन्छ नि, त्यसलाई धन पनि बढी चाहिन्छ, शान पनि बढी चाहिन्छ । तर प्रत्येक मान्छेले म मर्छु भन्ने सम्भिmयो भनेदेखि त्यो सम्झनाले ऊबाट पाप कम हुन्छ । मैले के सोचेको छु भने कुनै दिन म पनि मर्छु । त्यसैले मेरो अबको जीवन भनेको आध्यात्म र अर्को लोकका लागि मानसिकरुपमा तयारी गरिराख्नुपर्छ भन्ने मैले सोचिराखेको छु ।
भारी बोक्ने बाहुन देख्दा माया लाग्छ
फेसबुक, सामाजिक सञ्जाल या कुनै मिडियामा आफूले केही अभिव्यक्ति दिनासाथ जातिवादीको आरोप लगाउँदै गाली गरेको देख्दा र सुन्दा नेता आङकाजीलाई दुःख लाग्दोरहेछ । ‘त्यस्ता प्रतिक्रियाहरु पाउँदा मलाई दुःख लाग्छ । ‘मैले पिछडिएका समुदायको हकहितको कुरा गर्दा कुनै जातिको विरोध गरेको अर्थ लगाउन मिल्दैन’ सोलुखुम्बुका पूर्वएमाले उपसचिवसमेत रहनुभएका शेर्पाले अनलाइनखबरसँग भन्नुभयो- ‘महिला अधिकारको कुरा गरेकै आधारमा विद्या भण्डारीलाई पुरुषविरोधी भन्न मिल्दैन, पत्रकार गिरफ्तारीको विरोध गरेका कारण शिव गाउँलेलाई प्रहरी विरोधी भन्न मिल्दैन । तर, मलाई यस्तो अरोप लगाइने गरेको छ, जबकि म क्षेत्रीबाहुनको विरोधी होइन ।’
आफू बस्ने गरेको वौद्धमै बाहुनहरुले भरिया काम गरेको देख्दा आफूलाई माया लाग्ने गरेको शेर्पाले बताउनुभयो । ‘यहाँ भारी बोक्ने काम गर्ने बाहुनहरु धेरै छन्, उनीहरुलाई देख्दा मलाई माया लाग्छ, पैसाको अभावले गर्दा उनीहरु दशैंमा घर जानसमेत सकेनन् ।’ उहाँले भन्नुभयो,-’यी बाहुनहरुलाई तिमीहरु शासक हौं भन्यो भन्ने अन्याय हुन्छ ।’
 ’मिडियाले बाख्रालाई कुकुर बनायो’
 ’हाम्रो शेर्पामा एउटा उखान छ, पाँच जनाले मिलेर बाख्रोलाई कुकुर भन्यो भने त्यो कुकुर नै हुन्छ,’ काजीले नेपालका केही मिडियासँग गुनासो पोख्दै भन्नुभयो-’यहाँका केही मिडियाले एकोहोरो हामीलाई जातिवादी, साम्प्रदायिक र विखण्डनकारी भनेर प्रचार गरेकागर्‍यै गरे, हामीले भन्न खोजेको के हो भन्ने प्रचार गरेनन्, उनीहरुलाई बाख्रालाई कुकुर बनाए ।’
आफूलाई रिपोर्टस क्लबमा ऋषि धमलाले बोलाएर लगेको र नियतबस फसाएको गुनासो गर्दै त्यहाँ पत्रकारले आफूमाथि आक्रमण गरेको विषयमा पत्रकारको गल्ती नदेखाई आफ्नो गल्ती देखाइएको भन्दै उहाँले चित्त दुखाउनुभयो । ‘पत्रकारलाई मेरो कुरा मन नपरेको भए तीन विकल्प थिए, या कार्यक्रम छाडेर हिँड्न सक्थे, या मैले बोलेको समाचार प्रकाशित नगर्न सक्थे, या भोलिपल्ट मिडियामार्फत् मेरो आलोचना गर्न सक्थे ।’
नेपालको मिडिया समावेशी र निश्पक्ष हुन नसकेको उहाँको गुनासो छ । ‘अखण्ड नेपालको समाचार १९ दिनसम्म प्राथमिकता दिइयो, त्यहीँ ५० हजार थारुले आन्दोलन गरेको समाचारलाई प्राथमिकता दिइएन’, उहाँले गुनासो पोख्दै भन्नुभयो- ‘नेपालका ६० प्रतिशत मिडिया आदिवासी जनजातिको अधिकारप्रति ‘बायस’ छन्, एकपक्षीय छन् । मैले पहिचानको विरोध गर्ने कृष्णगोपाल श्रेष्ठको जिब्रो निकालेर कुकुरलाई खुवाउनुपर्छ भनेर गरेको भाषणलाई बाहुनको जिब्रो निकाल्नुपर्छ भन्यो भनेर प्रचार गरियो ।’
शेर्पाको गुनासो छ,-सबै फूलहरु बराबरी हुन् भन्ने अनि तोरीको फूललाई मात्रै प्राथमिकता दिने ?’
पहिचानसहितको संविधान बन्नेमा आशावादी
चार-पाँचघण्टासम्म अनवरत भाषण गर्न सक्ने प्रखर वक्ताका रुपमा चिनिने नेता आङकाजी शेर्पा पहिचानसहितको संविधान बन्नेमा अझै पनि आशावादी देखिनुहुन्छ । नेपाललाई सम्वृद्ध बनाउन विकास चाहिने र विकासका लागि शान्ति चाहिने बताउँदै शेर्पाले अब बन्ने संविधानले शन्ति स्थापना गर्नुपर्ने बताउनुभयो । संविधानले सबै जातजाति, वर्ग र समुदायलाई आत्मसम्मान र पहिचान दियो भने मात्रै शान्ति सम्भव हुने उहाँको भनाइ छ । ‘अब पनि कत्ति झगडा गरेर बस्ने ? हङकङले इधरका माल उधर गरेर आफूलाई कहाँ पुर्‍याइसक्यो, हामैसँगै लोकतन्त्र आएको थाइल्याण्ड कहाँ पुगिसक्यो, हामीले पनि अब संविधानमार्फत् शान्ति ल्याउनुपर्छ र ५ सय वर्ष विनाविवाद नेपाललाई सम्वृद्ध बनाउन लागिपर्नुपर्छ, उहाँले भन्नुभयो-’नेपाल भौगोलिकरुपमा धनी छ, तर अहिलेको आवश्यकता भनेको विभेदको अन्त्य गर्नु हो । वादी महिलाले सिंहदरबार अगाडि आएर आफ्नो नग्नता देखाउनुपर्ने विभेद र विडम्बनाबाट देशलाई मुक्त पार्नुपर्छ ।’
नेपाली कांग्रेस र एमालेले समेत गणतन्त्रर, संघीयता र धर्मनिरपेक्षतामा प्रतिवद्धता जनाएकाले पहिचानको मुद्द सम्बोधन हुनेमा आफू आशावादी रहेको बताउँदै अब उहाँले सबैले मिलेर नेपाललाई सम्वृद्ध बनाउने दिन आउने र द्वन्द्व सदाका लागि अन्त्य हुने आशा व्यक्त गर्नुभयो ।
सभार श्रोत : अनलाइन खबर
(जनजाति नेता शेर्पासँग अनलाइनखबरले पहिचानमा केन्द्रित रहेर गरेको कुराकानी केहीबेरपछि अनलाइन खबरमा प्रकाशित हुनेछ ।)

Tags:

0 Responses to “'म क्षेत्रीबाहुन विरोधी होइन, बाख्रालाई कुकुर बनाइयो' : आङकाजी शेर्पा”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks