Wednesday, December 11, 2013
बाबुले गति छाडेपछि छोरालाई यस्तो सजाय
Wednesday, December 11, 2013 by Unknown
बावियाचौर–६ सुर्खेतका ११ वर्षीय विमल (नाम परिवर्तन) एचआइभी संक्रमित हुन्।उनी आफ्नै कारण एचआइभी संक्रमित भएका भने होइनन्। संक्रमित बुवाआमाबाट जन्मिएका बिमल गर्भमै एचआइभी संक्रमित भइसकेका थिए।
तर, २ वर्षअघि मात्रै उनी एचआइभी संक्रमित भएको थाहा भयो।
बिरामी बुवाको उपचारका क्रममा रगत जाँच गर्दा एचआइभी संक्रमण फेलापरेपछि आमा छोराको पनि रगत जाँच गरियो।
दुबैको रगतमा एचआइभीको संक्रमण फेला पर्यो।
विमललाई आफू संक्रमित भन्ने थाहा छ। यस्तो रोग लाग्दैमा मानिसको मृत्यु भइहाल्दैन नियमित औषधि प्रयोग गरे धेरै वर्ष बाच्न सकिन्छ भन्ने पनि उनलाई जानकारी छ।
तर पनि कहिलेकाही आफूले गर्दै नगरेको गल्तीको सजाय पाइरहेको जस्तो लाग्ने बताउँछन्।
'बुवाले गरेको एउटा सानो गल्तीले आमा र मैले यस्तो सजाय भोग्नुपर्यो' उनले सेतोपाटीसँग भने।
तर उनी बुवालाई मात्रै सबै दोष पनि दिदैन्न। 'उहाँले पनि अन्जानमै गर्नुभएको गल्ती हो, पहिले नै यसका बारेमा जानकारी पाएको भए यस्तो हुनेथिएन, ' उनी सम्झन्छन्।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण हरेक वर्ष भारत जाने बिमलका बुवा उतैबाट एचआइभी संक्रमित भएर आए।
उनलाई आफू संक्रमित भएको बारे जानकारी थिएन। उनीबाट श्रीमतीलाई पनि एचआइभी संक्रमण भएछ।
दुबैबाट जन्मिएका बिमललाई पनि संक्रमण भयो।
बिमलकी आमा अमृता (नाम परिवर्तन) पनि श्रीमानले गरेको गल्तीले गर्दा छोराले जीवनभर सजाय पाएको बताउँछिन्।
बिमलका बुवा पनि अहिले पश्चातापमा छन्। भन्छन्, 'मैले त्यो गल्ती नगरेको भए छोराले जिन्दगीभर यो सजाय पाउने थिएन।'
दुई वर्षदेखि कामका लागि भारत जान छोडेका विमलका बुवा भारतमा बस्ने धेरैलाई एचआइभी संक्रमण भएको हुन सक्ने बताउँछन्। 'त्यहाँ काम गर्न गएका अधिकांश पुरुषहरु हप्ता वा महिनामा एक दिन यौनकर्मी महिलाहरुको सम्पर्कमा पुग्छन्' उनले भने, 'उनीहरुसँग प्राय असुरक्षित यौन सम्बन्ध राख्ने हुनाले संक्रमणको सम्भावना बढी देखिन्छ।'
भारतमा काम गरेर आएकाहरुको सुरुमा रगत जाँच गराउन सके गल्ती नगरेरै जीवनभर सजाय भोग्न आफ्नो छोरा विमलको जस्तो अवस्था अरुले भोग्न नपर्ने उनी बताउँछन्।
भारत जाने आउने नाकाहरुमा सरकारले निःशुल्क रगत जाँच र परामर्श सेवा दिने व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।
पश्चिम सुर्खेतकै तातापानिका ८ वर्षीय जीवन(नाम परिवर्तन) पनि एचआइभि संक्रमित हुन्। संक्रमित बुवाआमाबाटै उनलाई पनि एचआइभि संक्रमण भएको हो। एचआइभिका क्षेत्रमा क्रियाशिल संस्थाको सहयोगमा उनी अहिले काठमाण्डौमा बसेर पढ्दै छन्।
जीवनकी आमा पार्वती(नाम परिवर्तन) भन्छिन्, 'हाम्रो गल्तीको सजाय यो नाबालकले पनि पायो।' पार्वतीले तरङगाका एक युवकसँग प्रेमविवाह गरिन्। श्रीमान कामका लागि प्राय भारतमा बस्थे।
श्रीमानसँगै पार्वती पनि भारत गईन्। केही समय उतै बसिन्। श्रीमान पटक पटक विरामी भइरहन्थे। पार्वती पनि विरामी पर्न थालिन्। लक्षण दुवै जनाका उस्तै थिए। उपचारका लागि अस्पताल जाऔँ भन्दा श्रीमानले मानेनन्। एक दिन पार्वतिका श्रीमान वेपत्ता भए। एक महिनासम्म फर्केर नआएपछि उनी नेपाल फर्किइन्। यहाँ आएर बाबियाचौरमा रहेको भिसिटि केन्द्रमा रगत परिक्षण गर्दा उनमा एचआइभि संक्रमण देखियो।
पार्वती भन्छिन्, 'उहाँ(श्रीमान)लाई पनि एचआइभि संक्रमण भएको थाहा भएर होला सायद मैले अस्पताल जाऔँ भन्दा कहिल्यै मान्नुभएन।'
विमल र जीवनजस्तै थुपै्र बालबालिकाहरु छन्, जो आफूले नगरेको गल्तीको सजाय भोगिरहेका छन्। जिल्ला एड्स समन्वय समिति(ड्याक) सुर्खेतका अनुसार सुर्खेतमा ४७ जना बालबालिकामा एचआइभि संक्रमण भएको पाइएको छ।
यो तथ्याङ्क भिसिटि सेन्टरमा आएर रगत जाँच गराउनेहरुको मात्र भएको ड्याकले जनाएको छ। जसमध्ये ३० जना बालक र १७ जना बालिका रहेका छन्। जिल्लामा हाल ४ सय २० जना एचआइभि संक्रमित रहेको फेला परेको छ। जसमध्ये ३ सय २ जना सुर्खेतकै र १ सय १८ जना जिल्ला बाहिर (दैलेख,अछाम) का रहेका छन्। त्यस्तै २० जना पुरुष र ९ जना महिला गरी २९ जनाको मृत्यु भइसकेको छ। Tags: Health , Society
Subscribe to:
Post Comments (Atom)


0 Responses to “बाबुले गति छाडेपछि छोरालाई यस्तो सजाय”
Post a Comment