Thursday, December 19, 2013
विहे गरेको २० वर्ष भयो, तर एक अर्काको नाम सम्म थाहा छैन ।
Thursday, December 19, 2013 by Unknown
उनीहरू वैवाहिक बन्धनमा बाँधिएको २० वर्ष भयो। तर, दम्पत्तीलाई एक अर्काको नाम थाहा छैन। सुन्दा अचम्म लागे पनि कैलालीको खैलाड गाविस वडा नम्बर ३ का बमबहादुर चौधरीका दम्पत्तीबीचको अवस्था यस्तै छ।१० वर्षको उमेरमा दुवै खुट्टा चल्न छोडेपछि अपाङ्ग बनेका बमबहादुरको विवाह आफन्तले जन्मजात श्रवण शक्ति गुमाएकी एक अपरिचित महिलासँग गरिदिए। ती महिलाको नाम विवाह गराई दिने आफन्तलाई समेत थाहा थिएन। बमबहादुरको नाम त उनकी श्रीमतीले सुन्नै सक्दैनन्।
'हामीबीच एक अर्काको नाम थाहा छैन। तर मन मुटुको धडकन भने थाहा छ' बमबहादुरले भने–'त्यही भएर होला २० वर्षदेखि एक अर्काको सुखदुःखका साथी बनेका छौं।'
गाउँमा थोरै खेतीयोग्य जमिन भएपनि उनीहरु काम गर्न सक्दैनन्। बमबहादुरका दुवै खुट्टा नचले पछि काम गर्न सक्ने अवस्था नै रहेन। उनकी श्रीमतीलाई भने श्रीमानको स्याहार सुसार गर्नबाट फुर्सद छैन।
उनीहरु मागेर जीवन गुजारा गरिरहेका छन्। ह्विल चियरमा बसेका श्रीमानलाई डोर्याउँदै बमबहादुरकी श्रीमती सदरमुकाम धनगढी पुगेकी छन्। बमबहादुरकी श्रीमतीले यसरी नै उनलाई ह्विल चियरमा डोर्याएर मागेको भरमा उनीहरुको जीविकोपार्जन भैरहेको छ।
'आफन्तले खोजेर विवाह गरिदिए पनि यिनलाई मेरो जीवनमा सायद भगवानले नै पठाएको हो' बमबहादुरले भावुक मुद्रामा भने–'सायद यिनी नभएको भए मेरो अवस्था के हुँदो हो?'
मुखले व्यक्त गर्न नसकेपनि श्रीमतीले आफ्ना बारेमा आफै भन्दा धेरै चिन्ता लिने गरेको बमबहादुरले बताए। 'विचरा व्यक्त गर्न सक्दिनन्' उनले भने–'म प्रति उनले देखाएको मायाले महशुस गर्न सक्छु।'
सरकारले अपाङ्गता भएका व्यक्तिलाई तीन श्रेणीमा विभाजन गरेको छ। जस अर्न्तगत सरकारले क वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ।
बमबहादुरको दम्पत्ती सरकारी मापदण्ड अनुसार क वर्गमा पर्छ। उनीहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने हो। तर उनीहरुले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्।
अपाङ्गताको श्रेणीमा क वर्गमा पर्ने बमबहादुरलाई ख वर्गको निलो परिचयपत्र थमाइएको छ। सरकारले निलो परिचयपत्र भएका आपाङ व्यक्तिलाई भत्ता दिने गरेको छैन।
बम बहादुरले दुवै जना अपाङ्ग भएकाले सामाजिक सुरक्षा भत्ता पाए जीवनयापनमा सहज हुने आशा व्यक्त गरे। उनले घरपरिवारका अरु कसैले साथ नदिएको बेला सरकारले साथ दिएको भए आभारी हुने बताए। Tags: Others
Subscribe to:
Post Comments (Atom)


0 Responses to “विहे गरेको २० वर्ष भयो, तर एक अर्काको नाम सम्म थाहा छैन । ”
Post a Comment