Sunday, December 15, 2013

बंगलादेशमा फेरी हिंसा बढ्यो

ढाका (एएफपी), पुस १ - बंगलादेशका कट्टरपन्थी नेता अब्दुल कादर मुल्लाहलाई मृत्युदण्ड दिइएको विरोधमा सुरु भएको आन्दोलनका क्रममा शनिबार र आइतबार गरी १९ जनाको मृत्यु भएको छ ।
प्रदर्शनमा शनिबार राति १३ र आइतबार ६ जनाको ज्यान गएको हो । इस्लामी समर्थकले सत्तारूढ दलका कार्यकर्ताका घरमा आगजनी र सडक संघर्ष थालेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
यसमा आइतबार ६ जनाको मृत्यु भएको र तीमध्ये ४ को मृत्यु पतग्राममा भएको हो । सरकारी प्रवक्ता हबिबुर रहमानका अनुसार प्रदर्शनकारीले करिब २० घरमा आगो लगाइदिएका छन् । प्रधानमन्त्री शेख हसिना वाजेदले प्रदर्शनकारीमाथि कारबाहीको चेतावनी दिएकी छन् । कादरलाई गत बिहीबार मृत्युदण्ड दिइएको थियो ।
यसको विरोधमा जमात-ए-इस्लामीले आइतबार बंगलादेश बन्द आह्वान गरेको थियो । लालमानीरहत इलाकामा जमात-ए-इस्लामी समर्थक र सुरक्षा फौजबीच झडप भएको थियो ।
सोही झडपमा उनीहरूको मृत्यु भएको हो । बन्दकर्ताले सवारी साधनहरूमा आगजनीको प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा प्रदर्शनकारीले सरकारी भवन र प्रहरी इकाईहरूमा आगजनी गरेका थिए । आइतबार प्रदर्शनकारी र प्रहरीबीच गोली हानाहानसमेत भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहीबारयता भएका झडपमा १२ जनाले ज्यान गुमाइसकेका छन् ।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता पाउन भएको संघर्षका क्रममा मानवताविरोधी युद्ध अपराध गरेको अभियोगमा मुल्लाहलाई मृत्युदण्ड दिइएको हो । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मृत्युदण्डको सजाय सुनाएका ५ नेतामध्ये मुल्लाह पनि एक हुन् । १९७१ को मुक्ति संग्रामका क्रममा भएका अत्याचारहरू जाँचका लागि सन् २०१० मा उक्त न्यायाधिकरणको स्थापना भएको थियो । मुक्ति संग्रामका क्रममा ३० लाखले ज्यान गुमाएका थिए ।
यसैबीच, सत्तारूढ दलले आगामी निर्वाचनमा विजय हासिल गर्ने देखिएको छ । उम्मेदवारको नाम दर्ता शुक्रबार बन्द भएपछि निर्वाचन आयोगले ३ सय स्थानमध्ये १ सय ५४ स्थानमा एक उम्मेदवारको मात्र नाम दर्ता भएको र तीमध्ये १ सय २७ जना अवामी लिगका उम्मेदवार भएको जानकारी दिएको छ । अवामी लिगका सहयोगीहरूले अन्य सात स्थानमा एक मात्र उम्मेदवार उठाएका छन् भने अब सत्ताधारी गठबन्धनलाई बहुमत प्राप्त गर्न १७ स्थान मात्र भए पुग्ने देखिएको छ ।
प्रधानमन्त्री हसिनाले राजीनामा नदिएसम्म प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी र उसका १७ सहयोगी दलले निर्वाचन बहिष्कार गर्ने बताएका छन् भने सत्ताधारी अवामी लिग भने निर्वाचन गराउने दृढतामा छ ।
जनवरी ५ मा हुने निर्वाचनका विषयमा विवाद समाधान गर्न सरकारलाई कडा अन्तर्राष्ट्रिय दबाब परेको छ । बीएनपीका उपाध्यक्ष समसेर मोबिन चौधरीले एक व्यक्तिको मात्र उम्मेदवारी पर्नुले निर्वाचनमा धाँधलीले नयाँ उचाइ लिएको देखाउने बताए ।
- See more at: http://www.ekantipur.com/np/2070/8/30/full-story/380810.html#sthash.7m1lnmh3.dpuf

Tags:

0 Responses to “बंगलादेशमा फेरी हिंसा बढ्यो”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks