Saturday, December 14, 2013
पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षबीच घोचपेच
Saturday, December 14, 2013 by Unknown
काठमाडौ, मंसिर ३० - संविधानसभा निर्वाचनको नमिठो परिणामलाई लिएर एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षबीच घोचपेच सुरु भएको छ । दाहालले कांग्रेस सभापति सुशील कोइरालालाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन खोज्दा भट्टराईले नमानेको संकेत दाहाल निकट नेता वर्षमान पुनले गरेपछि त्यसको प्रतिवाद भट्टराईले आफ्नो फेसबुक पेजबाट गरेका छन् ।
पुनले बिहीबार पार्टीभित्रकै नेताका दबाबका कारण राजनीतिक नेताको नेतृत्वमा चुनावी सरकार बन्न नसकेको खुलासा गरेका थिए । त्यस बेला राजनीतिक नेतृत्वमा सरकार बन्न नदिनेले पराजयको जिम्मा लिनुपर्ने उनको भनाइ थियो ।
त्यसपछि नेता बाबुराम भट्टराईले विपक्षीहरूका अतिरिक्त आफ्नै नेता र सहकर्मीको दबाब खेप्न नसकेर संविधानसभाको म्याद थप्दा संकटकाल लगाउन नसकेको भन्दै शुक्रबार जवाफ फर्काए ।
'२०६९ जेठ १४ गते राति अन्तिम विकल्पका रूपमा म आफैंले कलंकको टीका लगाएर भए पनि संकटकाल घोषणा गर्छु र संविधानसभाको म्याद थप्ने प्रस्ताव लैजान्छु भन्ने सोच बनाएर त्यसको उद्घोष पनि गरें तर अरू विपक्षीहरूका अतिरिक्त आफ्नै
नेता र सहकर्मीहरूको दबाब खेप्न नसकेर पछि हटें,' भट्टराईले भनेका छन्, 'यो मेरो जीवनको सबभन्दा ठूलो गल्ती सावित भयो, जुन म विनम्रतापूर्वक स्वीकार्छु ।'
निर्वाचनमा पराजयपछि भट्टराई र नारायणकाजी श्रेष्ठले दाहाललाई आत्मालोचना गर्न दबाब दिएरहेकै बेला उनले शुक्रबार अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकमा त्यसको प्रतिवाद गरे । उनले सिंगो लडाइँमा एउटा हार हुनेबित्तिकै कमान्डर नभाग्ने बताए । 'सिंगो लडाइँमा एउटा मोर्चामा हार्नेबित्तिकै कमान्डर भाग्न मिल्दैन,' उनले भने, 'यो चुनाव पनि एउटा मोर्चा थियो, यसमा हार भयो भन्दैमा भाग्न मिल्दैन ।'
भट्टराईले संकटकाल लगाएर संविधानसभाको म्याद बढाउन दाहाल पक्षले नमानेको संकेत गरेका छन् । प्रवक्ता अग्नि सापकोटाले संकटकाल लगाएर भए पनि संविधानसभाको म्याद बढाउने विषयमा त्यसबेला पार्टी एकढिक्का भएको दाबी गरे । सहकर्मी र नेताका दबाबका कारण निर्णय गर्न नसकेको भन्ने भट्टराईको भनाइ 'यथार्थपरक' नभएको उनले बताए । 'संविधानसभा विघटन भएको अर्को दिन अध्यक्षले पत्रकार सम्मेलनमा संकटकाल लगाएर भए पनि संविधानसभाको म्याद बढाउने कुरा गर्नुभएको थियो, पार्टीभित्र यसमा सबैको एकमत थियो,' उनले भने ।
'त्यस बेला संविधानसभाको म्याद नथप्न पार्टीभित्र दबाब पर्यो भन्ने कुरा यथार्थपरक होइन,' प्रवक्ता सापकोटाले भने ।
निर्वाचनमा पार्टी नराम्ररी पराजय भएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै दाहालले आत्मालोचना गर्नुपर्ने आवाज भट्टराई र नेता नारायणकाजी श्रेेष्ठ पक्षले उठाउन थालेका छन् । दाहालले यसलाई 'धोबीघाट' पुनरावृत्ति हुने संकेतका रूपमा बुझेको स्रोतको भनाइ छ । २०६८ साउनमा भएको धोबीघाट गठबन्धनमा दाहालविरुद्ध तत्कालीन उपाध्यक्ष मोहन वैद्य, भट्टराई र श्रेष्ठका साथै महासचिव रामबहादुर थापा थिए । त्यसबेला पार्टीभित्र दाहाल अल्पमतमा परेका थिए । आगामी केन्द्रीय समिति बैठकमा दाहाल पक्षका केन्द्रीय सदस्यले निर्वाचनको पराजयको कारण अध्यक्ष नभई 'बाह्य र आन्तरिक कारण' देखाउने तयारी गरेका छन् । भट्टराई र श्रेष्ठ पक्षले दाहालको राजीनामा माग्ने कदमसमेत उठाउन सक्ने आशंका दाहाल पक्षले गरेको छ । तर प्रवक्ता सापकोटा दाहालले राजीनामा दिने कल्पना पनि गर्न नसकिने बताउँछन् । 'धाँधली र षड्यन्त्रका कारण पार्टी पराजय भएको छ, यसलाई निहुँ बनाएर अध्यक्षले राजीनामा दिने कुरा कल्पना पनि गर्न सकिँदैन,' उनले भने, 'दोषजति अध्यक्षका थाप्लामा हालेर गर्न खोजेको कुरा के हो ? यस विषयमा अध्यक्षको डटेर प्रतिरक्षा हुन्छ ।' उनले पार्टीले हारेका बेला एकजुट भएर त्यसको सामना गर्नुको सट्टा मूल नेतृत्वमा प्रहार गर्ने कुराले गम्भीर बनाएको जनाए । एमाओवादीको केन्द्रीय समिति बैठक पुस पहिलो साता काठमाडौंमा बस्दैछ । Tags: Politics
Subscribe to:
Post Comments (Atom)


0 Responses to “पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षबीच घोचपेच”
Post a Comment