Wednesday, December 11, 2013
रेग्मी चाँडै सरकार छाड्न आतुर, तानसेन नगरपालिका पूर्ण साक्षर
पाल्पा, मंसिर २६ - अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सरकारको जिम्मेवारी छाड्न आतुर रहेको बताएका छन् ।
तानसेन नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा कार्यक्रममा अध्यक्ष रेग्मीले चाँडै संविधानसभाको अधिवेशन प्रारम्भसँगै राजनीतिक दलको निर्वाचित सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् ।
'यस सरकारको प्रमुख लक्ष्य शान्तिपूर्ण वातावरणमा स्वच्छ ढङ्गबाट अधिकाधिक जनसहभागितासहित संविधानसभा निर्वाचन सम्पन्न गर्नु रहेको थियो, जुन कार्य सम्पन्न भइसकेको छ र सरकारको प्रमुख दायित्व पूरा भएको छ,' रेग्मीले भने, 'निर्वाचनको सम्पन्नतासँगै यस सरकार यथाशक्य चाँडो जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गरी बहिर्गमन हुन आतुर छ ।'
चुनावपछि राजनीतिक दलहरुबीच देखिएका असमझदारी सामान्य विषय भएको उनले बताए ।
'केही राजनीतिक विषयहरुमा राजनीतिक दलहरुबीच छलफलका सन्दर्भहरु रहेका भएतापनि त्यस्ता छलफल र बहसहरु सामान्य राजनीतिक अभ्यासका क्रममा दैनन्दिन उत्पन्न भइरहने विषयहरु हुन् भन्ने मलाई लाग्दछ,' उनले भने, 'तसर्थ, बहुदलीय लोकतान्त्रिक व्यवस्थामा फरक राजनीतिक विचारधाराका आधारमा निर्देशित हुने दलहरुबीच केही छलफलका विषयहरु रहेका भए त्यस्ता विषयहरु उहाँहरुको आपसी विमर्शबाट शीघ्र निरोपण हुनेछन् ।'
अध्यक्ष रेग्मीले संविधानसभाको चुनाव शान्तिपूर्णरुपमा सम्पन्न भएको दोहोर्याउँदै जनमतको सवैले सम्मान गर्नुपर्ने बताए ।
'लोकतन्त्रमा जनता सर्वोपरि हुन्, जनता नै जनार्दन पनि हुन्,' एमाओवादीले चुनावी नतिजा स्वीकार नगरेकोप्रति लक्षित गर्दै उनले भने, 'जनइच्छालाई हामी सबैले सम्मान गर्नुपर्दछ ।'

0 Responses to “रेग्मी चाँडै सरकार छाड्न आतुर, तानसेन नगरपालिका पूर्ण साक्षर”
Post a Comment