Monday, December 9, 2013

रेखाको राउटे मोह

हङकङ, मंसिर २५ - नायिका रेखा थापा अबका केही हप्ताभित्रै राउटे बालबालिकाबीच घेरिएर पत्रकार सम्मेलन गरिरहेको भेटिए सुटिङ सम्झेर नझुक्किनुहोला । त्यो वास्तविक नहुन सक्छ । नेपाली फिल्मकी 'नम्बर वान' हिरोइनको पगरी गुथेकी यिनी सधैं चर्चामा रहन्छिन् । चाहे ती व्यावसायिक हुन वा निजी मामिलाका कुरा । यतिबेला सात समुद्रपारिको सहर हङकङ आइपुगेकी यिनले राउटे बालबालिकाका शिक्षा र पालनपोषणमा काम गर्ने आफ्नो योजना अन्तिम चरणमा पुगेको खुलासा गर्दै चर्चाको अर्को पोको खोलेकी छन् । सुरुमा तीन-चारजनाबाट यसको थालनी गर्ने सोच छ यिनको । आफैं आमा बनेर ती बालबालिकालाई नागरिकता दिलाउन प्रयत्न गर्नेसमेत बताइन् रेखाले । करिब एक महिनाअघि 'रेखा थापा फाउन्डेसन' विधिवत् दर्ता गरी गृहकार्य सुरु भइसकेको यिनको दाबी छ ।
राउटे, चेपाङ लगायत बालबालिकाहरूका हितमा काम गर्ने संस्थाको उद्देश्य छ । जसकी अध्यक्ष यिनी आफैं हुन् । केही बालबालिकालाई उत्कृष्ट शिक्षादीक्षा दिई सशक्त नेता बनाउने सोच छ यिनको । 'नेता भन्नाले राजनीतिज्ञ मात्र भन्न खोजेकी होइन नि,' उनले थप प्रस्ट्याउन चाहिन्, 'कुनै पनि क्षेत्रको सक्षम व्यक्ति बनाउने मेरो चाहना हो, कुनै बेलाको अनाथ असहाय बच्चा देशको प्रधानमन्त्रीसम्म बन्न सकून् भन्ने मेरा अभिलासा हो, जुन विरलै भएको छ ।' बालबालिकालाई जंगलबाट ल्याएर शिक्षा दिलाउने काम चुनौतीपूर्ण छ भन्ने नबुझेकी होइनन् यिनले । 'तर म यसमा सफल हुन्छु भन्ने आत्मविश्वास छ,' यताबाट फर्किएलगत्तै यसै कामका सिलसिलामा राउटे बसोबासरत क्षेत्र जाने तय भइसकेको बताउँदै उनले भनिन्, '२४ घन्टा राउटेहरूसँगै बिताउनेछु ।'
काम धेरैअघि बढिसकेकाले सफल हुनेमा विश्वस्त देखिएकी उनी अनुहार उज्यालो बनाउँदै बोलिन्, 'छिट्टै बालबालिकालाई सँगै राखी पत्रकार सम्मेलन गर्नेछु ।' संस्था चलाउने रकम कसरी जोहो गर्ने योजना छ भन्ने जिज्ञासामा उनी बोलिन्, 'सहयोगी हातहरू धेरै छन्, उहाँहरूबाटै सहयोगको अपेक्षा गरेकी छु,' उनले जोडिन् 'मेरा सच्चा प्रशंसक, साथीभाइ र इष्टमित्र चिन्ने उचित अवसर यही हुनेछ ।' चलचित्र प्रदर्शनबाट उठेको केही रकमसमेत यिनले संस्थामै खर्चिने सोच बनाएकी छन् । हङकङमा पनि यिनी निर्मित चलचित्र 'काली' को विशेष प्रदर्शनमा आएकी हुन् । उठेको रकम संस्थामै खर्चिने बताइन् यिनले । फाउन्डेसनबारे यिनले हङकङमा पहिलोपटक सार्वजनिक जानकारी दिएकी हुन् । यसो किन त ? जिज्ञासामा उनी हँास्दै बोलिन्, 'मैले मुलुकबाहिर उद्घोष गरेका कुरा अहिलेसम्म लक्की सावित भएका छन् यसैले ।'
पछिल्लो समय कलाकारिता हुँदै राजनीतिमा पनि होमिएकी छन् रेखा । यिनी एमाओवादी प्रवेश गरेको खबरले चुनावअघि राम्रै बजार पिटेको थियो । पर्सा-१ बाट संविधानसभा निर्वाचनका लागि टिकट समेत पाएकी रेखा मतदाता सूचीमा नाम दर्ता नहँुदा उक्त अवसरबाट चुकिन् । चुनावी परिणाममा उक्त क्षेत्रमा एमाओवादी छैटौं स्थानमा आएको छ । चुनावमा नउठेर ठिकै गरेछु भन्ने लाग्यो होला नि होइन ? प्रश्नमा रेखा हाँस्दै बोलिन्, 'तर मलाई जित्न सक्छु भन्ने पूर्णविश्वास थियो, जित्थें पनि ।'

Tags:

0 Responses to “रेखाको राउटे मोह”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks