Friday, December 13, 2013

तानाशाहले दिए आफ्नै फुपालाई मृत्युदण्ड

उत्तर कोरियाका तानाशाह किम जोङ–उनले उत्तर कोरियाली सत्ता तथा सेनाको दोस्रो बरियतामा रहेका आफ्ना फुपाजु जङ सङ–थाएकलाई मृत्युदण्ड दिएका छन् ।६७ वर्षीय जङलाई बिहीबार मृत्युदण्ड दिइएको उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

सैनिक अदालतले उनलाई सैनिक ‘कु’ मार्फत सत्ता उल्टाउने योजना बनाउएको भन्दै राज्यद्रोहको आरोपमा मृत्युदण्ड दिइएको हो ।

सैनिक अदालतले मृत्युदण्ड घोषणा गरेपछि उत्तर कोरियाका सरकारी सञ्चार माध्यमले उनलाई ‘गद्धार’ र ‘कुकुरभन्दा पनि निकृष्ट’ भन्ने आरोप लगाएका छन् ।

जङलाई कसरी मृत्युदण्ड दिइयो भन्ने प्रष्ट छैन । उत्तर कोरियामा गोली हानेर मृत्युदण्ड दिने प्रचलन छ ।

किम ‘डाइनास्टी’का पछिल्ला उत्तराधिकारी ३० वर्षीय किम जोङ–उनले सत्ता हानाथापमा आफ्ना फूपाजु जङलाई अघिल्लो हप्ता सेनाबाट बर्खास्त गरेका थिए ।

त्यसलगत्तै उनलाई सत्ताधारी वर्कश पार्टीको साधारण सदस्यबाट पनि हटाइएको थियो। जङ उत्तर कोरियाका संस्थापक नेता किम इल–सङका कान्छा ज्वाइँ हुन् । किम जङ –उनका पिता किम जङ–इलको १८ वर्षे कार्यकालमा जङले उत्तर कोरियाली सत्तामा दोस्रो प्रमुख व्यक्तिका रूपमा काम गरेका थिए । कलिलो उमेरमा नै सत्ताको उत्तराधिकारी बनेका किम जोङ–उनका अभिभावक थिए जङ ।

उत्तर कोरियामा सत्तारूढ परिवारका सदस्यलाई मृत्युदण्ड दिएको समाचार बाहिर आएको यो नै पहिलो घटना हो ।

योभन्दा अगाडिका सत्ता बिरोधी र सत्ता विप्लपका घटनालाई गुपचुप राख्ने गरिन्थ्यो । जङको सत्ता पतनका दृश्यले भने सरकारी टेलिभिजनमा नै स्थान पाए । उनलाई पार्टीले बर्खास्त गरेपछि पार्टीको बैठकबाट सेनाले घोक्राउदै बाहिर निकालेको दृश्य सरकारी टिभीले प्रसारीत गर्‍यो ।
 
सैनिक अदालतमा बयानका बेला जङलाई हतकडी लगाएको दृश्य पनि प्रसारित गरिएको थियो । बयानका समयमा उनलाई पाखुरामा दुई सैनिकले समातेका र पछाडिबाट तेस्रोले घिच्चुकमा ठेलेर टाउको निहुरियाएको अवस्थामा देखाइएको थियो।

Tags:

0 Responses to “तानाशाहले दिए आफ्नै फुपालाई मृत्युदण्ड”

Post a Comment

Subscribe

Donec sed odio dui. Duis mollis, est non commodo luctus, nisi erat porttitor ligula, eget lacinia odio. Duis mollis

© 2013 Halla Sansaar (हल्ला संसार). All rights reserved.
Designed by SpicyTricks